२०७४ पौष २ आइतबार / Sunday 2017-12-17

12:20:42

Logo
Title
Image

नेपालमा पर्यटनको महत्व

- भदौ २९, २०७४

डा. उद्धव पुरी–
आर्थिक रूपमा पर्यटनको महत्व सर्वाधिक रूपमा बढिरहेको छ । नेपालमा सन् १९६० को दशक अगाडि पर्यटन उद्योग वा व्यवसायबाट हुने आम्दानीलाई त्यति महत्व दिइएको थिएन । त्यसपछि प्रायः सबैजसो देशहरूले यसलाई वैदेशिक मुद्रा आर्जन गर्ने मुख्य माध्यम ठानि क्रमशः देशीय र अन्तर्राष्ट्रिय पर्यटन गतिविधि तीव्र रूपमा अगाडि बढ्यो । तब यसले आन्तरिक विकास बढाएको, देशको गार्हस्थ उत्पादन, प्रतिव्यक्ति आय, राष्ट्रिय आय बढाउनुका साथै ठूला तथा घरेलु उद्योग र उत्पादनमा वृद्धि गराएको, बेरोजगारी समस्या कम गराएको, शोधानान्तर स्थिति सुध्रिएकोजस्ता प्रत्यक्ष आर्थिक क्रियाकलापहरूमा प्रभाव परेकाले पर्यटन क्षेत्र आर्थिक महत्वको विषय बन्न गएको छ । विशेषगरी एसियामा पर्यटन व्यवसायबाट चीन, भारत, जापानलगायतका देशहरूले आफ्नो स्थितिलाई मजबुद पारेका छन् । नेपालको गतिविधि पर्यटकको अनुकूल नरहे पनि पर्यटन क्षेत्रले राष्ट्रिय आम्दानीमा वृद्धि भइरहेको छ ।

पर्यटनको आर्थिक महत्वलाई दृष्टिगत गरी सन् १९६३ मा रोममा भएको अन्तर्राष्ट्रिय पर्यटन सम्मेलन, सन् १९८० को मनिला सम्मेलनलगायत पाटा, संयुक्त राष्ट्रसंघ, विश्व बैंक आदिले आर्थिक गतिविधिको सफल पक्ष भनी स्वीकारी पर्यटन विस्तार महत्वका साथ यसको विकासलाई प्राथमिकताको सूचीमा राखेका छन् । त्यसैगरी कुनै पनि राष्ट्रको विकासलाई औद्योगिकीकरणले विशेष भूमिका निर्वाह गरेको हुन्छ । हुनत पर्यटनलाई पनि एउटा उद्योगकै रूपमा हेरी पर्यटन उद्योग भन्ने गरिन्छ । तर पनि कुनै देश वा स्थान विशेषमा भएको पर्यटन प्रवद्र्धन एवं विकासले त्यस क्षेत्रमा प्रयोग हुने वस्तुहरूको उत्पादन गर्ने र उद्योग कलकारखानाहरूको वृद्धि गराउँदछ । जस्तै ः ट्वाइलेट पेपर, गार्मेन्ट इन्डस्ट्रि, होटेल, रेष्टुरा, लज र पर्यटकीय क्षेत्रमा बिक्री हुने उपहारयोग्य वस्तु, क्युरियो एवं सजावटका सामानहरूको राष्ट्रिय, अन्तर्राष्ट्रिय उद्योगधन्दालगायत स्थानीय घरेलु उद्योगधन्दाहरूको वृद्धि गराउने काम पर्यटनले गर्दछ ।

धार्मिक एवं सांस्कृतिक महत्व  
कुनै पनि व्यक्तिको आफ्नो व्यक्तिगत पहिचान भनेको उसले आफूले अवलम्बन गरेको धर्म र संस्कृति हो । भौगोलिक प्रभाव वा धार्मिक कारणले त्यो एक ठाउँको मानिसको भन्दा अर्को ठाउँको मानिसको भिन्दै हुन सक्छ । कतिपय अवस्थामा एकै धर्मका मानिसहरूको परम्परा र संस्कृति फरक पनि हुनसक्छ । धर्म, संस्कृति, परम्परा, खानपान, चाडपर्व, संगीत, मानिसका चासोका विषय हुन् भने त्यस विषयसँग सम्बन्धित धार्मिक, सांस्कृतिक ऐतिहासिक र पुरातत्विक स्थल र जीवन्त संस्कृति एवं परम्पराहरू  पर्यटकीय रूपमा कहिलै पुराना हुँदैनन् । यिनीहरूले मानिसका लागि त्यत्तिकै दर्शनीय महत्व बोक्दछन् । विशेष गरी विकसित देशहरूभन्दा अविकसित देशहरूले बढी महत्व राखेका छन् । विकासले ल्याएको परिवर्तन र व्यस्तता अविकसित देशहरूमा कम भएकाले यस्तो देखिएको हो । पर्यटनको महत्वका कारण अहिले पुरातात्विक, ऐतिहासिक र सांस्कृतिक स्थलहरूको खोजी संरक्षण र विद्यमान संस्कृति एवं परम्परालाई  यथार्थपरक प्रस्तुत गर्ने परिपाटी बढ्न थालेको छ । यसले धार्मिक सहिष्णुता र प्रचार–प्रसारमा सकारात्मक भूमिका निर्वाह गरेको छ ।

शैक्षिक महत्व
शिक्षाको विकास एवं सदुपयोगले नै मानिसलाई विकसित गराएको छ । अहिले भएको प्रविधिको विकासले शिक्षा आर्जनलाई सरल र व्यापक बनाएको छ । औपचारिक शिक्षा आर्जन पर्यटनभित्र नपरे पनि पर्यटनका माध्यमबाट विश्व परिवेशमा रहेका विभिन्न स्थान, परम्परा, जातजाति, संस्कृति, भाषा, जीव र वनस्पतिलगायतका विषयहरूका सम्बन्धमा जानकारी प्राप्त हुन्छ । पर्यटन प्रबद्र्धनका लागि प्रायः सम्बन्धित निकायहरूले अहिले यस्ता संक्षिप्त जानकारीहरू वेभसाइडहरूमा समेत दिने हुने हँुदा विश्वको एक कुनाको बारेमा अर्को कुनाका मानिसले घरैमा बसेर ज्ञान हासिल गर्न सक्छन् भने त्यसै अभिरुचिले थप जानकारी लिने, हेर्ने, देख्ने वा प्रत्यक्ष अनुभूति राख्ने इच्छा हुन्छ र पर्यटकीय गतिविधिलाई बढाउँछ । त्यसैगरी थप उच्चशिक्षाका लागि पनि सहयोग पुग्दछ । सामान्यतया पर्यटनका कारण मानिसले आफूभन्दा भिन्न भाषा, धर्म, समाज, संस्कृति, परम्परा, रितिरिवाज एवं त्यस देश वा स्थानको नियम कानुनलगायतका विषयमा ज्ञान एवं जानकारीसमेत गराउने हँुदा शैक्षिक दृष्टिकोणले पर्यटनको महत्वलाई कम मान्नु हँुदैन ।

सामाजिक महत्व
पर्यटनको सामाजिक महत्व अहिलेको परिपे्रक्ष्यमा ज्यादै अपरिहार्य भएको छ । विकसित र विकासोन्मुख देशहरूमा यसको भिन्न महत्व देखिन्छ । विकसित देशहरूका लागि विकासको प्रतिफल वृद्धि गराउँदै उन्नत समाज निर्माण कार्यमा यसले महत्व राख्दछ भने विकासोन्मुख देशहरूमा क्षेत्रीय विकासको अवधारणाअनुसार विकासको पूर्वाधार तयार पार्ने, समाजमा विद्यमान कुरीति, गलत परम्परा र पछौटेपन हटाउने र समाज विकास र आफनत्व संरक्षणमा स्थानीय क्षमतालाई शिक्षित बनाउने कार्य पर्यटनबाट हुन्छ ।

विशेषगरी समाजलाई विकसित एवं उन्नत गराउन कतिपय अवस्थाहरूमा स्थानीय समाज, नेतृत्व वर्ग वा सम्बन्धित सरकारी निकायका कार्यहरू सही भए पनि समाजले त्यसलाई सजिलै स्वीकार्दैन । तर त्यही कुरा भिन्न देश, परिवेश, धर्म, संस्कृतिका मानिसले चासो राखेमा छिट्टै परिवर्तन हुन सक्छ ।

वातावरणीय महत्व
पर्यटन र वातावरण एक–अर्कामा ज्यादै नगिचको सम्बन्ध राख्दछन् । किनभने मानिस अनुकूलको वातावरण भएन भने त्यो स्थानमा पर्यटनको कुनै सम्भावना रहँदैन । प्रकृतिबाट प्राप्त वातावरणलाई व्यवस्थित गरी पर्यटनको विस्तार गर्न भने सकिन्छ । डाँडा, पर्वत, हिमाल, वन जंगल, जीवजन्तु, वनस्पति, ताल, झरना, नदी, समुष्ी किनारा, हावापानी आदि सबै कुराहरू वातावरणभित्र पर्दछन् ।

सामान्यतया पर्यटकहरू आफ्नो व्यस्त र भीडभाडको वा बेफुर्सदी जीवनबाट समय निकालेर केहीबेर केही दिन त्यस्तो स्थानमा यात्रा गर्न चाहन्छन् जहाँ गएर उसले कुनै शारीरिक एवं मानसिक यातना वा दुःखकष्ट बेहोर्नुपर्दैन । स्वास्थ्य अनुकूलको वातावरणमा मनोरञ्जन गरी खुशी प्राप्त गर्नु नै उसको मुख्य उद्देश्य हो । त्यसैले पर्यटनका लागि अनुकूल वातावरणमा मात्र पर्यटनको कल्पना हुन सक्छ । पृथ्वीका विभिन्न क्षेत्रमा विभिन्न किसिमका प्राकृतिक वातावरण पाइन्छन् । कतिपय अवस्थामा जो आफै मानवका लागि अति रोमाञ्चक, आनन्ददायी, अनौठो मनमोहक र चुनौतीपूर्ण हुन सक्छन् । जसमा सबैखाले पर्यटकहरू रमाउन सक्दछन् । कतिपय स्थानहरू त पर्यटकहरूले स्वस्थ्य पर्यटनका रूपमा पनि उपयोग गरिरहेका हुन्छन् ।

राजनीतिक महत्व
पर्यटनको राजनीतिक महत्व बढ्दै गएको छ । राजनीतिक स्थिरता भएको ठाउँमा विकास एवं शान्ति हुन्छ । पर्यटनका लागि त्यो अनुकूल वातावरण हो । फेरि अहिले विश्वव्यापी रूपमा पर्यटन व्यवसाय फैलिएको सन्दर्भमा कुनै पनि राज्य वा समाजले आफ्नो पुरानो राजनीतिक पूर्वाग्रहलाई त्याग्न सकेन भने पर्यटन व्यवसाय फस्टाउन सक्दैन । बरू कतिपय देशहरू त्यस्ता पूर्वाग्रहलाई त्यागी पर्यटन प्रवद्र्धनका लागि राजनैतिक रूपमा नगिच हुन थालेका छन् । चीन, भारत, पाकिस्तानजस्ता देशहरू नजिकका उदाहरणहरू हुन् । सरकारप्रमुख, राज्यप्रमुख, नेता, मन्त्री, उच्चपदस्थ व्यक्ति, सांसद आदिको औपचारिक भ्रमणदेखि राजनैतिक बैठक, सभा–सम्मेलनजस्ता राष्ट्रिय, अन्तर्राष्ट्रिय कार्यक्रमहरूले पर्यटनलाई सहयोग पु¥याइरहेकै हुन्छ । त्यस्तै राजनैतिक संगठन, समूह (सार्क, ओपेक आदि) हरूको नियमित बैठक, भ्रमण आदिले पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ ।

वर्तमान युगमा कुनै पनि राष्ट्र एक–अर्को राष्ट्रसँग अछुत भएर बस्न सक्दैन । कुनै बेला त्यस्तो बनेका राष्ट्रहरूमा पनि पर्यटनका कारण भाइचारामा वृद्धि भएको छ । राजनैतिक रूपमा सहयोगको आदन–प्रदान भएको छ । जसबाट कुनै पनि देशको बाह्रय सम्बन्ध राम्रो र सहयोगात्मक हुनुका साथै आन्तरिक विकासमा समेत टेवा पुग्नु पर्यटनको राजनैतिक महत्वका विषय हुन् ।

प्रतिकृया दिनुहोस