२०७४ पौष २ आइतबार / Sunday 2017-12-17

12:14:24

Logo
Title

जागीरको पहिलो आधार बायोडाटा

- भदौ २९, २०७४

स्नातक तहको अध्ययन पूरा गरी जागीरको खोजी गरिरहेकी पाटनका मञ्जु महर्जनलाई पत्रिकामा खोलिने भ्याकेन्सी एनाउन्समेण्टप्रति विश्वास नै छैन । आवश्यकता भन्दै लाखौं रुपैयाँ खर्च गरेर पत्रिका विज्ञापन गर्छन्, तर कहिले नि नबोलाउने गरेको उनको गुनासो छ । ‘कतिओटामा आवेदन हालिसकेँ, तर बोलाइएको छैन,’ उनी भन्छिन्, ‘आफ्ना मान्छे भर्ती गर्न मात्र यस्ता भ्याकेन्सीको नाटक रचिएको हो ।’

‘२ वर्षदेखि जागीरका लागि भौंतारिरहेको छु । पढेर मात्र के गर्नु, आफ्नो मान्छे नभईकन कहीँ जागीर नपाइने रहेछ,’ महर्जनले भनिन्, ‘परीक्षा लिएर, मार्कसिट हेरेर, अन्तरवार्ता लिएर पो जागीर दिनुपर्छ । होइन र ? यहाँ त राम्राभन्दा हाम्रालाई छान्ने प्रवृत्ति छ ।’  

वास्तवमा अधिकांश कम्पनी वा संस्थाले नातावाद, कृपावादअनुसार जागीर दिने गर्दैनन्,’ राष्ट्रिय छवि भएको एउटा कम्पनीका एक मानव संसाधन व्यवस्थापकले भने, ‘सानातिना व्यवसायमा यस्तो होला । तर हामी आवेदकको बायोडाटालाई पहिलो आधार मान्छौं ।’ पढाइको अब्बलपन दोस्रो प्राथमिकतामा राखिने जानकारी उनले दिए । ‘बोर्ड फष्र्ट भए पनि के गर्ने ? बायोडाटा नै बनाउन नजान्नेले कम्पनीलाई कसरी व्यवस्थापन गर्ला ?’ उनले प्रश्न गरे ।

वास्तवमा धेरैजसो कम्पनी वा संस्थाले अन्तरवार्तामा बोलाउनुभन्दा पहिले शर्टलिष्ट तयार गर्छन् । खासगरी आकर्षक कम्पनी तथा कार्यालयमा कामका लागि प्रशस्तै आवेदन प्राप्त हुने भएकाले आकर्षक बायोडाटाले मात्रै उनीहरूको ध्यान आकृष्ट गरेको पाइन्छ ।

सरकारी निकायमा जस्तो परीक्षा लिई अन्तरवार्ता गर्ने प्रावधान कम्पनीहरूमा हुँदैन । यसका लागि उनीहरूसँग समय पनि हुँदैन । त्यसैले पहिलो आधार नै बायोडाटा हुने गरेको हो ।

पहिलो दृष्टिमै रोजगारदाताको ध्यान खिच्न सक्ने बायोडाटा नै असल बायोडाटा हो । त्यस्तो बायोडाटाले मात्रै पूरै पढिने अवसर पाउँछ र अन्तरवार्तासम्म पुर्‍याउन सक्छ । अस्पष्ट, महत्त्वपूर्ण जानकारीहरू माथिबाट तलतिरको क्रममा क्रम मिलाएर नलेखिएको बायोडाटाले वास्तविक योग्यता पनि प्रतिविम्बित गर्न सक्दैन । साथै, लेआउट, फण्ट, फण्ट साइज जस्ता आदिले पनि आकर्षक बायोडाटा लेखनमा महत्त्वपूर्ण योगदान गर्छन् ।

अनावश्यक कुरा नराख्ने
बायोडाटामा लेखिएका निजी उद्देश्यहरूले रोजगारदातामा कहिल्यै राम्रो प्रभाव छोड्न सक्दैनन्, बरु बायोडाटालाई थप खराब बनाइदिन्छन् । रोजगारदाताले तबमात्र तपाईंलाई काममा भर्ना गर्नेछन्, जब तपाईंको योग्यता र कामको अनुभव उनीहरूका लागि उपयोगी छन् भन्ने लाग्न सक्छ । त्यसैले, बायोडाटा योग्यतामा केन्द्रित हुनुपर्छ । तपाईंले के–कस्ता कामको अनुभव र उपलब्धि हासिल गर्नुभएको छ भन्ने कुरा नै सबैभन्दा महत्त्वपूर्ण हुन् । नबिर्सौं, बायोडाटा आगामी कामबाट तपाईंले के–के चाहना र आशा गर्नुभएको छ भन्ने कुरा व्यक्त गर्ने ठाउँ होइन, यो त योग्यताको सूची हो ।

‘प्रोफाइल’ सबैभन्दा माथि
बायोडाटाको सबैभन्दा माथि आफ्नो परिचय राखिसकेपछि शैक्षिक एवम् व्यावसायिक योग्यतालाई छोटकरीमा स्पष्ट र सरल भाषामा लेख्नु उपयुक्त हुन्छ । प्रोफाइल योग्यता, अनुभव र शीप तथा क्षमताको छरितो सूची हो । यसलाई केही वाक्यांश वा थोरै बुँदामा सीमित गर्नु राम्रो हुन्छ । उपयुक्त लेखन भएको प्रोफाइलले तपाईंको सबै योग्यता समेटेको हुनुपर्छ । यही प्रोफाइलले दिएको दृष्टिबाट छनोटकर्ताले तपाईंको पूरै बायोडाटा हेर्छ भन्ने मनन गरेर लेख्नुपर्छ ।

उपलब्धिलाई केन्द्रमा राख्ने
बायोडाटामा आफूले गरेको कामका जिम्मेवारीको होइन, हासिल गरेका उपलब्धिको सूची समावेश गर्नुपर्छ । छनोटकर्ताका लागि तपाईंले हासिल गरेको उपलब्धिको जानकारी महŒवपूर्ण हुन्छन् । किनकि, त्यसले नै तपाईंको वास्तविक योग्यता र क्षमता झल्काउन सक्छ ।

छोटो तर पूर्ण
अनावश्यक वा झिनामसिना कुरासमेत लेखिएको लामो बायोडाटा पट्यारलाग्दो हुन्छ । सरल शब्द, छरिता वाक्य र जानकारीको पूर्ण एवम् क्रमबद्ध प्रस्तुति नै असल बायोडाटा हो । दुई पृष्ठभन्दा लामो हुनुहुन्न भन्ने बायोडाटाको सामान्य नियम नै छ । जानकारीलाई बुँदागत रूपमा प्रस्तुत गर्नु राम्रो हुन्छ । तर, बुँदाहरूको सूची धेरै लामो भने हुनु हुँदैन । त्यसैले, अनुच्छेदहरूमा भन्दा बुँदागत सूचीमा छनोटकर्ताको ध्यान केन्द्रित हुने कुरा मनन गरेर लेख्नु राम्रो हुन्छ ।

आवेदन गर्न लागेको कामसँग तालमेल
तपाईंले हासिल गरेका सबै अनुभव वा तपाईंमा भएका सबै खालका योग्यता आवेदन गर्न लागेको कामसँग सम्बन्धित हुन्छन् भन्ने छैन । त्यसैले, आवेदन गर्न लागेको कामसँग सम्बन्धित जानकारीलाई प्राथमिकतामा राख्नुपर्छ भने असम्बन्धित, तर महत्त्वपूर्ण अन्य जानकारी दोस्रो प्राथमिकतामा राखेर प्रस्तुत गर्नुपर्छ । याद राख्नुस्, बायोडाटा तपाईंको योग्ताको मार्केटिङ डकुमेण्ट हो ।

गूगलको सहायता
आफूलाई बायोडाटा बनाउनेमा अझै अन्योल छ भने गूगलको बायोडाटा फम्र्याट सर्च गर्न सकिन्छ । त्यहाँ आफूले वा रोजगारदाताले खोजेको फर्म्याट पाउन सकिन्छ । कम्पनी वा संस्थालाई कस्तो किसिमको फम्र्याट आवश्यक हुन्छ भन्ने सुझाव त्यहाँ भेटाउन सकिन्छ । फर्म्याट पाएपछि त्यसलाई आफूअनुकूल प्रयोग गर्नुपर्छ । कपी तथा पेष्ट गर्दा नतीजा नराम्रो पनि हुन सक्छ  

प्रतिकृया दिनुहोस