२०७४ असोज ३१ मंगलबार / Tuesday 2017-10-17

11:50:44

Logo
Title
Image

मेमोरी किङ: अर्पण शर्मा

- असोज २४, २०७४

को हुन् अर्पण शर्मा ?
विश्वकै सबैभन्दा तेज स्मरणशक्ति भएका व्यक्ति हुन् अर्पण शर्मा । उनको नाम गिनिज बुक अफ वल्र्ड रेकर्ड्समा लेखिएको छ ।

एक मिनेटभित्र ४२ वस्तुहरुको नाम क्रमवद्ध रुपमा सम्झेर उनले २०७१ सालमा विश्व कीर्तिमान बनाएका हुन् ।

संसारमा नेपालीहरु ‘बहादुर’ भनेर चिनिन्छन् । तर, अर्पणले यसमा चित्त बुझाएनन् । नेपालीहरु बलमा मात्र होइन, बुद्धिमा पनि अब्बल छन् भन्ने दुनियाँसामु सावित गरिदिएका छन् उनले ।

अर्पणकै शब्दमा उनले यो स्मरणशक्ति जन्मजात पाएका होइनन् । योगध्यानको बलले आफ्नो दिमागलाई तिखारेका हुन् ।

उदाहरण दिँदै अर्पण भन्छन्, ‘मानौं एउटा रुख छ र त्यसलाई बन्चरोले काट्नु छ । यदि बन्चरोको धार भुत्ते भएको छ भने त्यसले रुख जति गरे पनि काट्न सक्दैन । तर, त्यही बन्चरोको धार तिखार्ने हो भने सजिलै काट्न सक्छ । मैले पनि आफ्नो दिमागको धार तिखारेर यो उपलब्धि हासिल गरेको हुँ ।’

 

तीक्ष्ण दिमागको रहस्य

झापाको भद्रपुर(८ मा एउटा मध्यमवर्गीय परिवारमा अर्पण जन्मिए । बाल्यकालमा उनको दिमाग अहिलेजस्तो विलक्षण थिएन ।

उनले स्थानीय एसएस निकेतन ईंग्लिस स्कुलमा एसएलसीसम्मको अध्ययन गरे । कक्षा १ मा चौंथो भएका थिए । ४ कक्षासम्म तेस्रो(चौंथो नै भए । ५ र ६ कक्षामा दोस्रो भए । त्यसपछि ७ देखि १० कक्षासम्म पहिलो भए । ०६३ सालमा एसएलसी दिएका उनले ७६ प्रतिशत अंक ल्याएका थिए ।

एसएलसी पास भएपछि हो अर्पणले आफूलाई तिखारेको । एसएलसीपछिका दुई वर्ष उनले पूरै दुनियाँ भुलेर आफूलाई योग(ध्यानमा लिन गराए ।

‘म बिहान ३ बजे उठ्थेँ र आठ घन्टा प्राणयाम(योग गर्थेँ,’ अर्पण सम्झिन्छन्, ‘राति तीन घन्टा ध्यान गर्थेँ ।’ बचेको समय उनी अतिरिक्त किताब पढेर बिताउँथे ।

त्यसताका उनी घरभित्र स्वेच्छिक कैदीजस्तो भएर बसेका थिए । छोराको मनसाय बुझेर बाबुआमाले कसैलाई उनीसँग भेट्न दिँदैनथे । यस अवधिमा उनी साथीभाइ र आफन्तहरुबाट पनि टाढा रहे ।

स्थानीय एम्ब्रोल एकेडेमीमा प्लस टुमा म्यानेजमेन्टमा भर्ना भएका थिए, तर एक दिन पनि कलेज गएनन् ।

‘अहिले मास्टर्स पढ्दैछु, तर कलेजको पढाइ कस्तो हुन्छ, मलाई अहिलेसम्म थाहा छैन,’ उनी भन्छन् ।

कलेजप्रति उनको वितृष्णाको कारण रहेछ नेपालको शिक्षा प्रणाली, जुन उनलाई एसएलसी पढ्दासम्म मनै पर्न छोडेको थियो ।

खासगरी कक्षा ७ मा पढ्दादेखि आफूले पढाईको प्याट्रन चेञ्ज गरेको अर्पण बताउँछन् ।

‘त्योभन्दा अघिसम्म म अरुले जस्तै घोकेरै पढ्ने गर्थेँ,’ उनले भने, ‘तर जब दिमाग लगाएर पढ्न थालेँ, मेरो रिजल्ट एकाएक सुध्रियो ।’

त्यसो त योगध्यानमा उनको रस बसेको कक्षा ५ मा पढ्दादेखि नै हो । टीभी र इन्टरनेटबाट उनले योग र ध्यानका विधिहरु सिके ।

कतिपय आफैंले विकास पनि गरे । अन्ततः उनलाई यसको लत नै लाग्यो ।

प्राणायाम गर्ने क्रममा उनलाई अचानक एउटा समस्या उत्पन्न भयो । उनी ओशोको ‘हार्ड एन्ड फास्ट ब्रिदिङ’ (रामदेवको कपालभाँतिको छिटो र कडा रुप) गर्ने क्रममा उनको कानमा असर र्गयो र सुनाई कम भयो । यो समस्याको समाधान खोज्न उनी डाक्टरकहाँ गएनन् । आफैं खोज अनुसन्धानमा लागे । इन्टरनेटमा गहिरिए ।

डाक्टरकहाँ नजानुको कारणबारे उनी भन्छन्, ‘म सकभर एलोपेथिक उपचारबाट टाढै रहन्छु, अध्यात्म र आयूर्वेदमा नै हरेक समस्याको समाधान खोज्छु ।’ एकपटक एपेन्डिक्स हुँदाबाहेक आफू अहिलेसम्म डाक्टरकहाँ कहिल्यै नगएको उनले बताए ।

अन्तमा आकाशमुद्रा (चोरी औंला र बुढी औंला जोड्ने) र आत्मसुझावले आफ्नो सुन्ने समस्याको हल गरेको अर्पणको अनुभव छ । कानको समस्या समाधान गर्नका लागि गरेका यत्नहरुले नै आफ्नो मस्तिष्कलाई असाधारणरुपमा विकास गरेको उनी बताउँछन् ।

‘मैले आफ्नो ब्रेनलाई कन्ट्रोल गर्न जानेँ,’ उनी भन्छन्, ‘चाहेँ भने दुई मिनेटमा अल्फा स्टेटमा जान सक्छु ।’ अर्पणका अनुसार मस्तिष्कका तरंगहरु अल्फ, बिटा, थिटा, डेल्टा हुन्छन् । अल्फा तरंगमा मस्तिष्क सबैभन्दा शक्तिशाली हुन्छ ।

शिक्षक बिनाको पढाइ

अर्पण अहिले मेची मल्टिपल कलेजमा मास्टर्स पहिलो वर्ष पढ्दैछन् । उनले प्लस टु र बीबीएसमा कलेज टप गरेका थिए ।

गुरुबिनाको सिकाई पूर्ण हुँदैन भनिन्छ । तर, अर्पणले त्यसलाई असत्य सावित गरिदिएका छन् । उनी एक दिन पनि कलेज गएनन् । न त ट्यूसन नै पढे । जम्माजम्मी एक महिना स्वअध्ययन गरेका भरमा उनले प्सल टु र ब्याचलरमा कलेज टप गरे ।

‘वर्षमा ११ महिना कोर्सको किताब पनि पल्टाउँदिन,’ अर्पण भन्छन्, ‘परिक्षा आउनु एक महिना अगाडि किताब किन्छु र पढ्न थाल्छु । मलाई कुनै पनि कुरा एकपटक पढेपछि पुग्छ ।’

हाल मास्टर्स पहिलो वर्षमा अध्ययन गरिरहेका उनी अहिलेसम्म न कलेज गएका छन् न त किताब नै किनेका छन् ।

उनले कहिल्यै बिहान र राति पढेनन् । किनकि यो समयमा उनी योगा(ध्यान गर्छन् । दिउँसो मात्र पढे ।

‘राति निद्रा मारेर आजसम्म पढेको छैन,’ उनले भने । यद्यपि, अरुलाई भने उनी बिहान पढ्न सुझाव दिन्छन् । बिहान पढेको कुरा चाँडै स्मरण गर्न सकिने उनको भनाई छ ।

उनी वर्षमा एक महिना कोर्सका किताब पढ्छन् र बाँकी ११ महिना बाहिरी किताब ।
आफूले पढेकामध्ये सबैभन्दा राम्रो एन्थोनी रविन्सको ‘अनलिमिटेड पावर’ भन्ने किताब लागेको छ उनलाई । उनले ओशोका पनि थुप्रै किताब पढेका छन् ।
शिक्षाप्रणालीमा वितृष्णा
चार्टर्ड एकाउन्टेन्ट (सीए) बन्ने उद्देश्यले उनले म्यानेजमेन्टमा र्फम भरेका थिए । तर, प्लस टुको पढाइ सुरु हुँदासम्म उनको त्यतापट्टी मोहभंग भइसकेको थियो ।
एसएलसीपछि उनलाई नेपालको शिक्षाप्रणालीप्रति नै वितृष्णा जाग्न थाल्यो । यसको कारण प्रष्ट्याउँदै अर्पण भन्छन्, ‘टिचरले जे घोकेको हुन्छ, कक्षामा आएर त्यही भट्याउँछ । अनि त्यसलाई विद्यार्थीले घोक्छन् । यो शैलीले पढेका विद्यार्थीले परीक्षामा त राम्रो नतिजा निकाल्न सक्लान्, जीवनमा ठूलो फड्को मार्न सक्दैनन् ।’

उनको भनाइमा विद्यार्थीले १ घन्टा पढेपछि १० मिनेट रेस्ट लिनैपर्छ । तर, नेपालका विद्यालय र कलेजमा यसरी ब्रेक लिने व्यवस्था छैन ।

‘एउटा टिचरले एक घन्टा पढाउँछ र उ निस्किनासाथै अर्को शिक्षक पस्छ र पढाउन थाल्छ । यसरी बीचमा रेस्ट नभएपछि विद्यार्थीले शिक्षकले पढाएका कुरा सम्झिन सक्दैन,’ उनले भने ।

घरमा पढ्दा पनि यही लागू हुने बताउँदै उनले प्रत्येक १ घन्टामा १० मिनेट रेस्ट लिएर पढ्न सुझाव दिए ।

नेपालको शिक्षाप्रणाली बदल्ने महत्वाकांक्षा पालेका अर्पणले त्यसनिम्ति सुरुमा आफैंले एउटा नमूना स्कुल खोज्ने योजना बनाएका छन् ।
‘हामी नमूना स्कुल खोल्नेछौं जहाँ विल्कुलै फरक तरिकाबाट पढाइ हुन्छ, र यो तरिकालाई म राष्ट्रव्यापी रुपमा स्थापित गर्ने प्रयत्न गर्नेछु,’ उनले भने ।

गिनिजबुकमा नाम

बीबीएस दोस्रो वर्षको परीक्षा आउन केही दिन बाँकी थियो । उनी केही साथीहरुसँग ग्रुप स्टडी गरिरहेका थिए । यहीबीचमा साथीहरुबीच कसले छोटो समयमा धेरै शब्दहरु सम्झिन सक्छ भन्ने प्रतिस्पर्धा चल्यो । अरु साथीहरुले एक मिनेटमा १० वटा शब्द पनि सम्झिन सकेनन् । तर, उनले ३२ वटा शब्द सम्झिए । त्यो पनि उल्टो सुल्टो जताबाट पनि ।

त्यसपछि साथीहरुले भन्न थाले, ‘तेरो दिमाग विश्व कीर्तिमान नै बनाउने खालको रहेछ, ट्राइ गर ।’

अनि, अर्पणको ध्यान त्यतातिर मोडियो ।

परीक्षा सकिनेबित्तिकै उनी इन्टरनेट चाहार्न थाले । उनले भेटे, सिंगापुरका एक व्यक्तिले एक मिनेटमा २२ वटा वस्तुको नाम सम्झेर गिनिजबुकमा नाम लेखाएका रहेछन् ।

‘त्यो रेकर्ड त म त्यतिबेलै तोड्न सक्थेँ,’ अर्पण भन्छन्, ‘तर भारतका जयसिंघ रभीरालाले एक मिनेटमा ४० वस्तु सम्झिन सक्छु भनेर आवेदन हालिसकेका रहेछन् ।’

नभन्दै रभीरालाले एक मिनेटमा ४० वस्तुको रेकर्ड राखे । अर्पणले अब उनलाई जित्नुपर्ने भयो । तर, यहीबीचमा उनले स्मरणशक्तिसँग जोडिएको अर्को कीर्तिमान पनि फेला पारे । यो कीर्तिमान थियो, पाँच मिनेटमा अत्यधिक रंगहरुको क्रमलाई मेलैसित सम्झिन सक्ने । रभीरालाको कीर्तिमान तोड्नुअघि उनी रंगको कीर्तिमान तोड्ने प्रयासमा जुटे ।

अन्ततः उनी पाँच मिनेट ४० सेकेन्डमा १ सय ६४ रंगहरुको क्रम सम्झिन सफल भए । यो विश्व कीर्तिमानका लागि काफी थियो । तर, कीर्तिमानको भिडियो रेकर्ड गर्ने बेला भएको प्राविधिक कमजोरीले गर्दा गिनिज बुकले यसलाई स्वीकार गरेन ।

त्यसपछि उनले रवीरालाको कीर्तिमान भंग गर्ने तयारी सुरु गरे । यसपटक उनले १४ वटा विश्व कीर्तिमानधारी युवा थानेश्वर गुरागाईंको सहयोग लिए ।

‘उहाँले मलाई प्रत्येक प्रोसेसिङमा गाइड गर्नुभयो, जसले गर्दा कहीँ कतै भुलचुक भएन,’ अर्पण भन्छन् ।

कीर्तिमान राख्ने दिन मिडिया बोलाउनुपर्ने, प्रतिष्ठित व्यक्तिहरुलाई निर्णायक बनाउनुपर्ने, प्रत्यक्षदर्शीको भनाई लिनुपर्ने, चारवटा एंगलबाट फोटो र भिडियो खिच्नुपर्ने, पब्लिक ठाउँ हुनुपर्ने लगायत प्रावधानहरु थिए ।

सबै प्रावधानहरु पूरा गरेर उनले ०७१ साल असोज १० गतेका दिन विश्व किर्तिमान राखे ।

उनलाई आँखामा पट्टी बाँधेर एउटा कोठाभित्र लगियो । पट्टी खोलियो र त्यहाँ क्रमवद्ध रुपमा राखिएका ४२ वटा वस्तुहरु एक मिनेटसम्म देखाइयो । त्यसपछि अर्कोपट्टी फर्काएर उनलाई ती वस्तुहरुको नाम भन्न लगाइयो । उनले क्रमैसँग सबै वस्तुहरुको नाम भने । उल्टोबाट पनि सुल्टोबाट पनि बीचबाट पनि जताबाट पनि । त्यसको फोटो, भिडियो लगायत डकुमेन्टहरु खिचेर गिनिज बुकको कार्यालयमा पठाइयो ।

उनको कीर्तिमान राख्दा झापाका तत्कालीन सिडिओ, क्षेत्रीय प्रशासक र डीआइजी नवराज सिलवाल उपस्थित भएका थिए । सो कीर्तिमानको समाचार स्थानीय पत्रपत्रिकाले प्रथम पृष्ठमा महत्वका साथ प्रकाशन गरे ।

त्यसको १३ महिनापछाडि गिनिजबुकमा उनको नाम लेखियो । गिनिजबुकले उनलाई प्रमाणपत्र पठायो । तर सो प्रमाणपत्र उनले तीन महिनासम्म लिएनन् ।

‘गिनिजबुकले दिएको प्रमाणपत्र सुटुक्क बुझेर कोठामा झुण्ड्याउने मन भएन, म देशको राष्ट्रपतिको हातबाट प्रमाणपत्र लिन चाहन्थेँ, तर त्यहाँसम्म मेरो पहुँच पुगेन ।’ उनले भने ।

आखिरमा उनले गत वर्षको पुस १ गते एमालेका अध्यक्ष तथा भुतपूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको हातबाट प्रमाणपत्र लिए ।

विश्व कीर्तिमानपछिको व्यस्त जीवन

अर्पणलाई सोधियो, ‘विश्व कीर्तिमान राखेपछि तपाईंको जीवनमा के के परिवर्तन आए ?’

उनले जवाफ दिए, ‘मलाई धेरैले चिन्न थाले र सम्मान गर्न थाले । जोसँग पनि खुलेर कुरा गर्न सक्ने भएको छु । पत्रकारहरुलाई अन्तरवार्ता दिन अभ्यस्त भएको छु । यसबाट मेरो आत्मविश्वास उच्च भएको छ ।

साथसाथै यो आत्मविश्वासका कारण मेरो स्मरणशक्ति अझै बढेको महसुस गरेको छु ।’

विश्व कीर्तिमानसँगै उनको चर्चा बढेपछि धेरै ठाउँबाट उनको माग हुन थाल्यो । यसबाट उनले आफ्नो योगध्यान घटाउनुपर्ने भयो । उनी ठाउँ(ठाउँ पुगेर स्मरणशक्तिको विषयमा प्रवचन दिन थाले । स्मरणशक्ति बढाउने ट्रिकहरु सिकाउन थाले ।

गिनिजबुकको प्रमाणपत्र लिएपछि राष्ट्रिय मिडियामै उनको चर्चा सुरु भयो । यससँगै उनको व्यस्तता ह्वात्तै बढ्यो । मेमोरी सेमिनारका लागि चौतर्फीरुपमा उनको माग हुन थाल्यो । त्यसपछि उनले शुल्क लिन थाले ।

एउटा मेमोरी सेमिनारको कति शुल्क लिनुहुन्छ भन्ने प्रश्नमा उनले खुलाउन चाहेनन् । तर, विशुद्ध आफ्नो कमाइले उनले हालै २८ लाखमा एउटा कार किनेका छन् ।

अहिले उनको माग विदेशबाट पनि आउन थालेको छ । चाँडै नै उनी अमेरिका जाँदैछन् । त्यसपछि क्रमशः अष्ट्रेलिया र दुबईको भ्रमण निश्चित भइसकेको छ । अरु देशबाट पनि बोलावट आउने क्रम जारी छ ।

आफ्नो एउटा सेमिनारमा भाग लिएर कुनै पनि व्यक्तिको सम्झने क्षमतामा नाटकीय सुधार गर्न सक्ने उनको दावी छ ।

‘मेरो सेमिनारमा भाग लिनेले यदि मेरो कुरामा एकदमै ध्यान दिएभने तत्कालै उनीहरुको मेमोरी १० प्रतिशत बढ्छ, र त्यसपछि पनि क्रमसः बढ्दै जान्छ । पहिले १० घन्टामा सम्झिने कुरा म एक घन्टामा सम्झिने बनाइदिन सक्छु ।’

मेमोरी सेमिनार गर्न उनी आर्मी बेस क्याम्प, स्कुल(कलेज, कम्प्युटर इन्स्टिच्यूट, ब्यूटी कन्टेस्ट जताततै पुगेका छन् । विद्यार्थीदेखि डाक्टर, इन्जिनियर कर्मचारी सबैलाई आफ्नो टेक्निक बाँडेका छन् ।

यद्यपि आजसम्म आफूले एउटा पनि उपन्यास नपढेको उनले बताए ।

गीत गाउँदै कण्ठस्थ

के गीत गाउँदै कुनै पाठ कण्ठ गर्न सम्भव छ ? आम मानिसका लागि सम्भव छैन । तर, अर्पणका लागि छ । मीठो स्वरका धनी उनले हामीसमक्ष गीत गाउँदै एक बुक तासका क्रमहरु सम्झेर चकित पारे (हेर्नुस भिडियो) ।
‘म राइट ब्रेन र लेफ्ट ब्रेन एक साथ चलाउन सक्छु,’ उनले सुनाए, ‘राइट ब्रेनले पढ्छु र लेफ्ट ब्रेनले गीत गाउँछु ।’

सात्विक भोजन

अर्पण घर बाहिर चिया पनि खाँदैनन् । उनी पूर्णरुपमा साकाहारी हुन् । खानपिनले मानिसको स्मरणशक्तिलाई धेरै प्रभाव पार्ने उनको भनाइ छ ।

‘म कहिल्यै जंक फुड खान्न,’ उनले भने, ‘बाहिर पानी पनि जथाभावी खान्न, मिनरल वाटर मात्रै खान्छु ।’

किन खाएनन् जागिर ?

अर्पणलाई अत्यधिक सोधिने प्रश्न दुईवटा छन् । पहिलो प्रश्न हो, स्मरणशक्ति कसरी बढाउन सकिन्छ ? दोस्रो हो, यति तेज स्मरणशक्ति हुनेले लोकसेवा लडेर ठूलो जागिर किन नखाएको ?

दोस्रो प्रश्नको जवाफ दिँदै उनले भने, ‘हो, मैले आजसम्म जागिरका लागि कतै पनि लिखित परीक्षा दिएको छैन । यो मेरो ‘प्यासन’ मै पर्दैन । म आफ्नो प्यासनभन्दा बाहिर गएर १०(५ को नोकरीमा सिमित हुन चाहन्न ।

म अहिलेकै काममा सन्तुष्ट छु । यदि महिनाको २० हजार मात्रै कमाई हुन्थ्यो भने पनि म यही काम नै गर्थेँ । कसैले मलाई बोकेरै कुर्सीमा राखिदियो भने पनि म जागिरमा रमाउन सक्दिनँ । मलाई त एक घन्टा एकाउन्टिङको काम गर्नुर्पयो भने पनि आत्महत्या गरौं जस्तो हुन्छ ।’

पाँच रेकर्ड राखेर मात्र बिहे

अर्पणको धोको छ, दिमागसँगै सम्वन्धित थप चारवटा विधामा विश्व कीर्तिमान राख्ने । ती विधाहरु के के हुन् ?

पहिले उनी रंगहरु सम्झिने रेकर्डलाई पूर्णता दिन चाहन्छन् । त्यसपछि उनले सोचेको रेकर्ड छ, स्वीमिङ पुलभित्र पसेर दुई(तीन मिनेट सास नफेरिकन दुई बुक तासको क्रम सम्झिने ।

अहिले गिनिज बुकमा यसरी एक बुक तास सम्झेको रेकर्ड छ । उनले सोचेको अर्को रेकर्ड हो, टायरमा उल्टो झुण्डिएर तल राखिएका वस्तुहरु सम्झिने । यस्तो रेकर्ड पहिले कसैले राखेको छैन । यदि गिनिजबुकले स्वीकार र्गयो भने यो नयाँ खालको रेकर्ड हुनेछ । उनले सोचेको चौंथो रेकर्ड हो, पाइ अर्थात ३.१४ को १ लाख अंक सम्झिने । अहिलेको रेकर्ड ६७ हजार अंकको छ ।

यी रेकर्डहरु नराख्दासम्म बिहे नगर्ने अर्पणको सोचाइ छ । उनी भन्छन्, ‘बिहे गरेपछि पारिवारिक दायित्व थपिन्छ र दिमागमा स्ट्रेस बढ्छ । यसबाट मेरो मेमोरी पावर घट्दै जान सक्छ । त्यसैले म बिहे गर्नुपूर्व आफ्नो मिसन पूरा गर्न चाहन्छु ।’

उनले अबको पाँच वर्ष्भित्रमा पाँचवटा विश्व कीर्तिमान राखिसक्ने र त्यसपछि बिहे गर्ने योजना बनाएका छन् ।

दिमागमै बन्छ फोल्डर

अर्पणले कुनै पनि कुरालाई सम्झिने खास तरिका केही छ कि ?

उनले सुनाए, ‘म कुनै पनि नयाँ कुरा सम्झिनुपर्दा दिमागमा काल्पनिक फोल्डर बनाउँछु र सम्झिनुपर्ने कुरालाई फोल्डरमा हाल्छु ।

त्यसलाई आवश्यकता अनुसार एडिट गर्न र डिलिट गर्न पनि सकिन्छ । डिलिट गर्दा मनमनै टिपेक्स लगाएर सेतो बनाउँछु । यसरी म चाहेको कुरा चाहेको समयसम्म दिमागमा राख्न सक्छु । म प्राय चारवटा फोल्डर प्रयोग गर्छु र एउटा फोल्डरमा सयवटासम्म आइटम राख्छु ।’
 

प्रतिकृया दिनुहोस