Logo
Image

महिला हिंसा विरुद्धको सोह्र दिने अभियान : जनचेतना जगाऔ उपमेयर राना 

- मङ्सिर १५, २०७५

सैनामैना । 

लैङ्गिक हिंसा विरुद्धको सोह्र दिने अभियान सुरु भएको छ । लैङ्गिक हिंसा र दुव्र्यवहार : छैन हामीलाई स्वीकार भन्ने नाराका साथ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको हो । हरेक नोभेम्बर २५ देखी डिसेम्बर १० तारिखसम्म लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाउने गरिन्छ । यस वर्ष जिल्लाका विभिन्न स्थानमा चेतनामुलक कार्यक्रम गरी मनाईदै छ । सन् १९६० को नोभेम्बर २५ का दिन हत्या गरिएका डोमिनिकन रिपब्लकका तीन साहसिक दिदी बहिनीहरु पाट्रिया,मर्निभा र मारियाको बलिदानी त्याग र उच्च साहसको सम्झना र सम्मान गर्दै उक्त दिनमा ल्याटिन अमेरिकी देशहरुमा महिला हिंसा विरुद्धको दिवसको रुपमा मनाउन थालिएको हो । त्यसको झण्डै तीन दशक पछि सन् १९९९ को डिसेम्बर १७ मा संयुक्त राष्ट्रसंघको साधारण सभाले त्यसै दिनलाई अन्तराष्ट्रिय महिला हिंसा विरुद्धको दिवसको रुपमा घोषण गरेको हो ।

यसै सन्दर्भमा रेडियो ‘मलमलाको कार्यक्रम मलमला टक सो’  कार्यक्रमका लागि सैनामैना नगरपालिकका उपमेयर बिना राना सँग विष्णु खत्रीले गर्नुभएको कुराकानी । 

१.नगरपालिकामा महिला तथा बालबालिकाको अवस्था अवस्था कस्तो छ ? 

नगरपालिकामा महिला तथा बालबालिकाको अवस्था सुधारन्मुख छ । किनकी टोल टोलमा महिला समुह,बाल समुह,महिलाहरुद्धारा संचालित सहकारीहरु स्थापना भैईसकेका छन् । हामीले महिला तथा बालबालिकाको क्षमता अभिबृद्धि गर्न विभिन्न समयमा चेतनामुलक कार्यक्रमहरु पनि गर्दै आएका छौ । महिलाहरु स्वतस्र्फुत रुपमा सामाजिक क्रियाकलामा पनि सक्रिय हुने क्रम पनि बढेको छ । बालबालिका शसक्तिकरणका लागि केही रकम उपलब्ध गराएका छौ । सोही अनुरुप बालबालिकाले पनि समाजमा सकारात्मक कार्यहरु गरिरहेका छन् । 

२.लैङ्गिक हिंसा विरुद्धको सोह्र दिने अभियान मनाउनुको तात्पर्य के होला ? यहाँको बुझाईमा ? 

सर्वप्रथम त लैङ्गिक विभेदता भनेको के हो ? बुझ्न जरुरी ठान्दुछ । लैङ्गिक विभेदता एक व्यक्तिको लिङ्ग आधारित गरिने भेदभाव हो । लैङ्गिकताको आधारमा हुने सबै प्रकारका हिंसा र अपराध अन्त्य गर्न यो अभियान सुरु गरिएको हो,जस्तो लाग्छ । किनभने लैङ्गिक विभेदताले महिलाहरुलाई मात्र होईन् कतिपय स्थानमा पुरुष पनि हिंसामा परिरहेको अवस्था छ । त्यसैले हामी कोही पनि हिंसामा नपरौ र आफुले पनि कोही प्रति हिंसा नगरौ भनी चेतनामुलक कार्यक्रम गरेर सचेत गराउनु पनि यसको अर्को उद्धेश्य हो । हाम्रो समाज अझै पनि पुरुष प्रधान भनेर नै चिनिन्छ । सबै महिलाहरु खुलेर बाहिर आउन सक्नुभएको छैन् । जनचेतनाको कमी छ । महिला हिंसा सम्बन्धी अभियानको मुख्य तात्पर्य नै महिलामाथि हुने विभिन्न प्रकारका हिंसाबारे आवाज उठाउनु हो । 

३.नगरमा के कस्ता महिला हिंसाका घटनाहरु सार्वजनिक भएका छन त ? 

नगरमा अहिले सम्म न्यायिक समितीमा ४० वटा मुद्धा परेका छन् । जसमा म हिंसामा परे भनेर त त्यत्ति धेरैको संख्यामा महिला दिदीबहिनीहरु आउनुभएको छैन् । एक जना महिला भने आउनुभएको थियो । त्यो वडामा कुराकानी गर्यौ र मिलायौ । तर पछिल्लो समयमा पुरुष दाजुभाईहरु सम्बन्ध बिच्छेदका मुद्धा लिएर आउनुभएको छ  ।

४.प्रत्येक वर्ष अभियान चलिरहन्छन् तर महिला हिंसाका घटना भने रोकिदैनन् किन होला ?

सोेह्र दिने अभियान चल्दैमा महिला माथि हुने गरेका हिंसा तुरुन्तै रोकिन्छन् भन्ने होईन् । यसले आफ्नो क्षेत्रमा दिर्घकालिन असर कत्तिको पारेका छन् भन्ने कुरा महत्वपुर्ण हो । महिलाहरुले यौन हिंसा,बलात्कार,बोक्सीको आरोप लगायतका हिंसाहरु दैनिक भोग्नुपरेको छ । यो जनचेतनाको कमी र अशिक्षाको अभाव पनि हो । अहिले महिला हिंसाका घटनाहरु बृद्धि भईरहेको भन्दा पनि समाजको डरले हिंसाका घटना लुकाउने प्रबृति भने हट्दै गएको छ । पीडितहरुले आफु हिंसामा परेका कुराहरु सार्वजनिक गर्न थालेका छन् । यो एउटा सकारात्मक पक्ष पनि हो । 

४.त्यसो भए गत वर्षको तुलनामा हिंसा न्युनिकरण भएको हो त ? के लाग्छ ? 

पुर्ण रुपमा हिंसा न्युनिकरण हुन समय लाग्छ । हिंसा न्युनिकरण भएका छन् भन्नु भन्दा पनि हिंसाका घटनाहरु बाहिर आईरहेका छन् । जसले महिलामा एक प्रकारको परिवर्तन भने आउन थालेकोे छ । 

५.हिंसा न्युनीकरण कसरी गर्न सकिएला ? 

यसका लागि त म सर्वप्रथम महिला दिदीबहिनीहरुमा सचेतनामुलक कार्यक्रम मार्फत चेतना जगाउन नै उपयुक्त ठान्छु । जब सम्म दिदीबहिनीहरु शिक्षित हुनुहुन्न तब सम्म यि घटनाहरु दोहोरीरहन्छ । अहिले कन्चनपुरको निर्मला पन्त एक प्रतिनिधी पात्र मात्र हुन् । नेपालमा हजारौ निर्मला पन्तहरु हिंसामा परिरहनुभएको छ । यसलाई न्युनिकरण गर्न पहिलो कुरा त आफुमा परिवर्तन हुन जरुरी छ । जब सम्म सोचमा परिवर्तन आउँदै त्यतिन्जेल सम्म बारम्बार निर्मलाका जस्ता घटनाहरु भैईरहन्छन् । तसर्थ स्थानिय स्तर,प्रदेश सरकार र केन्द्र सरकार लगायत सबैले चेतनाका लागि पहल गर्नुपर्दछ । समय समयमा तालिमहरु प्रदान गर्नमा जोड दिनुपर्दछ । 

६.यतिबेला हामी लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाईरहेका छौँ,अभियानका सन्दर्भमा नगरमा के कस्ता कार्यक्रम भईरहेका छन् ? 

नगरमा विगतका वर्षमा जस्तै यस वर्ष पनि विभिन्न कार्य गरेर अभियान मनाउँदै छौ । हामीले यस वर्ष अन्तरक्रिया कार्यक्रम गर्दै छौ ।  

७.हिंसा न्युनिकरणका सन्दर्भमा काम गर्दा अबका चुनौतीहरु के के देख्नुहुन्छ ? 

हिंसा न्युनिकरणका क्षेत्रमा काम गर्दा पक्कै पनि विभिन्न चुनौतीको सामना त स्वत ः गर्नुपर्दछ । हाम्रो समाजमा एकातिर महिला शिक्षित छैन्न् भने अर्कोतिर समाजले महिलालाई हेर्ने दृष्टिकोणमा पुरै परिवर्तन आउन सकिरहेको अवस्था छैन् । पितृसतात्मक सोच तत्कालै परिवर्तन हुन कठिन छ । त्यसैले काम गर्दा धेरै कठिन नै छ । 

८.के भयो भने काम गर्न सहज होला ? 

यसका लागि हिंसाका सम्बन्धमा बनेका कानुनहरु व्यवहारमा लागु हुनुपर्यो । घरमा सासुले बुहारीलाई छोरी सरह ठान्नु पर्यो भने बुहारीले सासुलाई आमा सरह मान्नुपर्यो ।  विभिन्न संचारमाध्यमहरुले महिला हिंसा न्युनिकरणका विषयमा प्रचार प्रसार गनुपर्यो । 

९.अन्तमा केही जोड्न चाहानुहुन्छ ? 

शिक्षा तथा चेतनाको अभावका कारण संसारका महिलाहरूले आफूमाथि हुने गरेको हिंसा तथा विभिन्न अपमानित व्यवहारहरू खप्न बाध्य हुने गरेका छन् । त्यसैले हिसांमा पर्ने महिला दिदीबहिनी होस् या पुरुष दाजुभाई नगरको न्यायिक समितीमा आफ्न कुराहरु ढुक्कका साथ राख्न आग्रह गर्दछु । महिला हिंसा विरुद्धको १६ दिने अभियान सफल होस् भनी शुभकामना दिन चाहान्छु । धन्यवाद । 

प्रतिकृया दिनुहोस