Logo
Image

आज बालाचतुर्दशी पर्व मनाइँदै, शिव मन्दिर परिसरहरुमा सतबिज छरिंदै

- मङ्सिर २०, २०७५

 २० मंसिर, काठमाडौं

हिन्दू धर्मावलम्बीले आफ्नो परिवारभित्रका दिवंगत आत्माको चिरशान्तिको कामनामा सत्बीज छरी आज बालाचतुर्दशी पर्व मनाउँदै छन् ।

देशभरका शिव मन्दिर परिसरहरुमा दर्शनार्थीहरुले विहानैदेखि सतबिज छरिरहेका छन् ।

पशुपति क्षेत्रको श्लेष्मान्तक बनमा वर्षभरि दिवंगत भएका आफन्तको सम्झनामा सतबीज छर्न देशभरबाट ठूलो संख्यामा भक्तजन पुगेका छन् ।

प्रत्येक वर्ष मंसिर कृष्ण चतुर्दशी अर्थात् आजैका दिन छरेको सतबीज दिवंगत भएका आफन्तले पाउँछन् भन्ने धार्मिक विश्वास छ ।

विहान सबेरैदेखि सतबीज अर्थात् जौ, धान, कालो तिल, गहुँ, तोरी, मास, सानो केराउ, लावा र मूला, ज्यामिर, सखरखण्ड, पिँडालु र हलेदोका टुक्रा छर्दैै पशुपति क्षेत्रमा देवीदेवताका मन्दिरहरु परिक्रमा गरिन्छ ।

भगवान् शिव मृगरुप लिएर घुम्नु भएको पूण्यक्षेत्रमा आजका दिन एक गेडा बीज छर्दा एक गेडा सुन दान गरेबराबरको पूण्य मिल्ने र दिवंगत आत्माले मुक्ति पाउने जनविश्वास छ ।

यसका लागि गएराति थुप्रैं भक्तालु कैलाश डाँडा, ठूलो महास्नानघर, घयाम्पो पाटी, बज्रघर, राममन्दिर, राजराजेश्वरी, बाग्मतीपारि, नासलचोकलगायत ठाउँमा महादीप बाली जाग्राम बसेका थिए ।

बाग्मती किनारको मृगस्थलीमा भगवान् शिव मृगरुप धारण गरेर बिहार गरेको थाहा पाई त्यस शिवरुपी मृगलाई चिन्न पार्वतीले विभिन्न किसिमको बीज छरेको र ती बीज उम्री हरियो भएपछि मृगहरु आउँदा सो बथानमा भगवान् शिवलाई पार्वतीले चिन्न सकेको किंवदन्ती पनि छ ।

प्रतिकृया दिनुहोस