Logo

बुटवलमा पहिलोपटक धान धितो राखेर किसानलाई ऋण

- मङ्सिर २१, २०७५

बुटवल  ।   

बुटवल उपमहानगरपालिकाले पहिलो पटक किसानहरूको धान धितोमा राखेर कृषि ऋण प्रदान गर्ने प्रक्रिया सुरुवात गरेको छ ।  

पहिलो चरणमा किसानले उत्पादन गरेको धानलाई सहकारीमा धितो राखेर सहकारी मार्फत किसानलाई ऋण प्रदान गर्ने योजना अनुसार बिहीबार बुटवल–१४ सेमलारमा रहेको सिम्रीक कृषि सहकारी संस्था र बुटवल उपमानरपालिकाको बीचमा समझदारी पत्रमा हस्ताक्षर गरिएको छ ।

बुटवल उपमानगरपालिकाबाट प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र सिग्देल र सिम्रीक कृषि सहकारी संस्थाका अध्यक्ष गणेश बहादुर गाहाले हस्ताक्षर गरेका छन् ।

बुटवलको सेमलार, मोतिपुर क्षेत्रका किसानहरूले उत्पादन गरेको धान उचित भण्डार स्थानको अभावको कारण उचित मुल्य विना नै विक्रि गर्दै आएका थिए । अव किसानहरूले सहकारीमा आफूले उत्पादन गरेको धानलाई सहकारीमा धितोको रूपमा राखेर कृषि ऋण लिन सक्छन् । किसानहरूले यसरी उत्पादन गरेको धान सहकारीमा राखेमा कुनै पनि भाडा तिनुपर्दैन । किसानको भाडा नगरपालिकाले तिरिदिने छ । 
बुटवल उपमानगरपालिका प्रमुख शिवराज सुवेदीले किसानहरूको समस्यालाई सामाधान गर्नको लागि पहिलो चरणमा किसानहरूको धानलाई भण्डारणमा अनुदान प्रदान गरिएको जानकारी दिए । 

पहिलो चरणमा किसानको धान मात्रै सहकारी मार्फत भण्डारण गर्ने सम्झौता सहकारीमार्फत गरिएकोमा आगामी दिनमा अन्य गहुँ, दाल जन्य कृषि उपज समेत भण्डार गरी किसानहरूलाई ऋण उपलब्ध गराउने तयारी गरिएको मेयर सुवेदीको भनाई रहेको छ । बुटवल उपमहानरपालिका, कृषि विकास महशाखा प्रमुख बरिष्ठ कृषि विकास अधिकृत भिमनाथ शर्माले किसानहरूले उत्पादन गरेको धानलाई सहकारीमा भण्डारण गरे बापत सहकारीले लिने भाडा रकम नगरपालिकाले प्रदान गर्ने छ ।

जसको लागि नगरपालिकाले २ लाख ५० हजार रूपैयाँको सम्झौता सहकारीमार्फत गरेको हो । किसाले यसरी भण्डारण गरेको धानलाई धितोको रूपमा सहकारीले स्वीकार गरी ऋण समेत प्रदान गर्ने सम्झौता गरिएको छ । ऋण चुत्ता पश्चात किसानले आफ्नो धान विक्रि गर्न पाउने सिम्रीक कृषि सहकारी संस्थाका अध्यक्ष गणेश बहादुर गाह मगरले जानकारी दिए । 

सहकारीका सचिव टोपनारायण घिमिरेका अनुसार वि.स. २०६६ सालमा स्थापना भएको सहकारीले आईडब्लु आरएमपीको अनुदानमा विउ प्रसोधन केन्द्र, भण्डारण केन्द्र समेत स्थापना गरेर सञ्चालन गर्दैै आएको छ । १० कठ्ठा क्षेत्रफल रहेको सहकारीले २ सय ५० मेट्रिक टन को ओपन सेड निर्माण गरेको छ भने १५ सय मेट्रीक टन र अर्को २ सय ५० मेट्रिक टन क्षमताको गोदाम घर निर्माण गरेको छ ।

प्रतिकृया दिनुहोस