Logo
Image

प्रदेश नं ५ : समयमै मलखाद उपलब्ध गराउन प्रदेशसभा सदस्यद्धारा ध्यानाकर्षण

- पौष २०, २०७५

पौष १९ रुपन्देही

कृषि उत्पादन बढाउन किसानलाई समयमै मलखाद उपलब्ध गराउने वातावरण सिर्जना गर्न प्रदेश नं ५ का प्रदेशसभा सदस्यले सरकारको ध्यानाकर्षण गराएका छन् । 

प्रदेशसभाको आज बसेको बैठकमा प्रदेश नं ५ मा मल व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसदले खेती गर्ने समयमा मल अभाव हँुदा कृषिजन्य वस्तुको उत्पादनमा कमी हुने भएकाले सहज, सरल र सुलभ मूल्यमा उपलब्ध गराउन माग गरेका थिए । बैठकमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । 

उक्त प्रस्तावमा भएको सैद्धान्ति छलफलमा भाग लिँदै प्रदेशसभा सदस्य फकरुद्दिन खानले कृषि उत्पादन बढाउन किसानलाई समयमै मल उपलब्ध गराउन माग गर्नुभयो । “प्रदेशमा कति टन मल खपत गर्नुपर्छ, त्यसको अध्ययन गरेर समयमै मलखादको व्यवस्था गर्नुपर्छ,” उहाँले भन्नुभयो, “अहिले युरिया चाहिएका बेला डिएपी फालाफाल छ भने डिएपी चाहिँदा युरिया मल पर्याप्त हुन्छ, यस्तो अवस्था अन्त्य हुनुपर्छ ।” 

प्रदेशसभा सदस्य खड्गबहादुर खत्रीले मल व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक स्वागतयोग्य रहेको भन्दै यो ऐनपछि अनुदानको मल बेचेर खाने प्रक्रियाको अन्त्य हुने बताउनुभयो । मलको कृत्रिम अभाव सिर्जना हुने गरेका कारण किसानले समयमा मल नपाएको र यस्तो अवस्था अन्त्य गर्नका लागि ऐन जरुरी भएको बताउनुभयो । 

विधेयकमाथिको छलफलमा भाग लिँदै प्रदेशसभा सदस्य पुष्पा थरुनी र फौजीया खातुनले खेती लगाउने समयमा मल नपाएका कारण किसानले धेरै समस्या खेप्नुपरेकाले यसतर्फ प्रदेश सरकारको ध्यान जानुपर्ने बताउनुभयो । बैठकमा उठेका विषयमा जवाफ दिँदै भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले मलखाद वितरणलाई सहज बनाउन विधेयक ल्याइएको बताउनुभयो । 

यस्तै आजको प्रदेशसभा बैठकमा मुख्यमन्त्रीको अनुपस्थितिमा कुलप्रसाद केसीले प्रदेश नं ५ जिल्ला सभा तथा जिल्ला समन्वय समिति सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफाबार छलफल गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो । 
रासस

प्रतिकृया दिनुहोस