Logo
Image

थारु कला संस्कृतिको संरक्षण गर्न सैनामैनामा माघी महोत्सव सुरु

- पौष २७, २०७५

विष्णु खत्री,सैनामैना । 

थारु कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यले रुपन्देहीको सैनामैनामा नयाँ वर्ष माघी ( खिचडी ) महोत्सव–२०७५ सुरु भएको छ ।

सैनामैना ४ मुर्गिया स्थित पर्रोहा माविको अगाडिको खेलमा मैदानमा बिहीबारदेखी सुरु भएको महोत्सव पौष २८ गते सम्म सञ्चालन हुनेछ । ३ दिने माघी महोत्सवलाई सैनामैना नगरपालिकाका मेयर चित्र बहादुर कार्कीले उद्घाटन गर्नुभएको हो । 

उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख कार्कीले थारु समुदायको संस्कृति नेपालको पहिचानमा विशेष महत्व भएको बताउनुभयो ।

उहाले भन्नुभयो ˗ प्रत्येक ब्यक्ति आफ्नो धर्म संस्कृति र रितिरिवाज जगेर्ना गर्नमा लाग्नुपर्छ । माघी पर्वलाई नगरपालिकाले सक्दो सहयोग गरिरहेको बताउँदै कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

माघी महोत्सव सैनामैना थारु कल्याणकारिणी सभाका अध्यक्ष दुल बहादुर थारुको अध्यक्षता,सैनामैना नगरपालिकाका प्रमुख चित्र बहादुर कार्कीको प्रमुख आतिथ्यता तथा नगर उपप्रमुख बिना रानाको विशिष्ठ आतिथ्यतामा मेला सुरु भएको हो । 

उक्त महोत्सवमा थारुहरुका विभिन्न नृत्यहरु प्रतियोगिताहरु जस्तै,झुमरा, झर्रा नाँच र खानाका परिकारहरुमा घुँगी, ढिुकुरी,माछका स्टल,रस्सी दौड,कुर्सी दौड,टिकुली प्रतियोगिता साथै महोत्सवलाई थप मनोरन्जनात्मक बनाउन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ । 

कार्यक्रममा हरिनारायण चौधरी , अनु चौधरी, दिपेन चौधरी, सरगाम चौधरी लागायत स्थानिय कलाकारहरुको विशेष प्रस्तुती रहने साँस्कृतिक समितिका संयोजक केवलप्रसाद चौधरीले जानकारी दिनुभयो ।

थारु समुदायले माघ १ गते नयाँ वर्षको रुपमा माघी (खिचडी) मनाउने गर्दछन् । माघीको पर्वको अवसर पारेर थारु समुदायले एक आपसमा शुभकामना आदान प्रदान गर्दै माघी पर्वलाई धुमधामका साथ मनाउँदै आएका छन् ।

कार्यक्रममा थारु कल्याणकारिणी सभाका केन्द्रिय पार्षदहरु खुसीराम चौधरी,रामबली चौधरी,ईलाका प्रहरी कार्यालय रन्यौरा प्रमुख केशव बहादुर बस्नेत,थारु कल्याणकारिणी जिल्ला उपसभापति बुद्धिराम थारु,राम बहादुर थारु,लक्ष्मी थारु लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन सभाका सचिव चन्द्रमान चौधरीले गर्नुभएको थियो । 

यसैबिच बिहान भएको रक्तदान कार्यक्रममा ३१ युनिट रगत संकलन भएको छ । ब्लड बैँक बुटवल शाखाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको हो । 

प्रतिकृया दिनुहोस